नेपालमा १० वर्षसम्म सशस्त्र विद्रोहमा रहेको तत्कालीन माओवादी पार्टीले शान्ति प्रक्रियामा सहभागी भएसँगै आफूले प्रयोग गरेका हतियार राज्यलाई बुझाएको एक दशक पुगेको छ।
माओवादी लडाकुले प्रयोग गरेका चार हजार हतियार कहाँ छन् र के गरियो भन्नेबारे माओवादीले पनि चासो राखेको छैन।
कहाँ छन् माओवादीले बुझाएका हतियार?
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सेनाले जिम्मा लिएका माओवादीले प्रयोग गरेका मध्ये केही हतियार सुरक्षा निकायहरूले प्रयोगमा ल्याएको बताएका छन्।
"माओवादीबाट प्राप्त भएको हतियारहरू मध्ये नेपाल प्रहरीबाट पहिचान भएको हतियारहरू नेपाल सरकारको निर्देशन अनुसार नेपाल प्रहरीलाई बुझाइएको छ।
बाँकी रहेका हतियारमध्ये प्रयोगमा ल्याउन सकिने हतियारहरू नेपाली सेनाले प्रयोगमा ल्याएको छ" सिलवालले भने।
"प्रयोगमा ल्याउन नसकिने र प्रचलनमा नभएका हतियारहरू सुरक्षित साथ भण्डारण गरिएको छ।"
प्रचण्ड नेतृत्वको पार्टीमा 'जनयुद्ध' दिवसको 'स्थायी अन्त्य'
यसअघि माओवादी नेताहरूले सशस्त्र युद्धमा प्रयोग भएका हतियारहरू सङ्ग्रहालयमा राखिने भनेपछि प्रवक्ता सिलवालले त्यसबारे सेनालाई कुनै आधिकारिक निर्णय वा जानकारी नआएको बताए।
विसं २०६४ को संविधानसभा निर्वाचन अघि नेपालमा शान्ति प्रक्रियाको मध्यस्थताका लागि आएको राष्ट्रसङ्घीय शान्ति नियोग (अन्मिन)को अनुगमनमा राखिएका हतियार २०६८ मा नेपाली सेनालाई जिम्मा लगाइएको थियो।
चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा भएको विशेष कार्यक्रममा विसं २०६७ माघ ८ गते माओवादी लडाकुका शिविर र हतियार तत्कालीन सेना समायोजन विशेष समितिको मातहतमा आएको घोषणा गरिएको थियो।
त्यसको एक वर्षपछि २०६८ चैत २८ गते माओवादी लडाकूहरूको अवकाश र सेनामा समायोजनसँगै माओवादी विद्रोहीसँग रहेका भनिएका सबै हतियार नेपाली सेनालाई जिम्मा लगाइएको बताइएको थियो।
लडाकु तथा हतियार अनुगमनको जिम्मेवारी लिएको निकाय अन्मिन २०६७ पुस मसान्तबाट फिर्ता भएपछि केही समय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माओवादी लडाकू सम्मिलित टोलीले हतियार अनुगमन गरेका थिए।
माओवादीले ९१ वटा मोर्टार, ६१ मसिन गन, २,४०३ राइफल, ६१ अटोमेटिक हतियार, ११४ साइड आर्म्स, २१२ शटगन, २३३ घरेलु बन्दुक र २५३ विभिन्न हतियार बुझाएको अन्मिनले जनाएको थियो।
माओवादी 'जनमुक्ति सेना'का पूर्व कमान्डर चन्द्रप्रकाश खनाल 'बलदेव'ले माओवादी आफैँले बनाएका कतिपय हतियारहरू पनि त्यसमा रहेको बताए।
"हामीले आफैँले बनाएका चिजहरू सङ्ग्रहालयमा राख्न हामीलाई दिनुहोस् पनि भनेका थियौँ। त्यो पछि भएन," उनले भने।
माओवादीले बुझाएका मध्ये अधिकांश आधुनिक हतियार सुरक्षाकर्मीहरूबाट लुटिएका बताइएको थियो। केही हतियार माओवादीले भारतबाट समेत ल्याएको तत्कालीन माओवादी नेताहरूले आफ्नो प्रकाशित संस्मरणमा उल्लेख गरेका छन्।
माओवादी लडाकुहरूसँग त्यसभन्दा धेरै हतियार भएको अनुमान गरिए पनि माओवादी विद्रोही नेताहरूले आफूहरूसँग भएका हतियार त्यति मात्रै भएको दावी गरेका थिए। बीबीसी न्यूज नेपाली