चैत ३, २०७७ मंगलबार

एजेन्सी  : आधुनिक फुटबलका महान हस्ति पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले केही दिन अघि मात्रै ब्राजिलियन लिजेन्ड पेलेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरे । गत आइतबार राति इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टसलाई जिताउन ह्याट्रिक गोल गरेका रोनाल्डोले पेलेको कीर्तिमान तोडेका हुन् ।


रोनाल्डोले ह्याट्रिक गोलसँगै युभेन्टसले क्याग्लिआरीलाई उसैको मैदानमा ३–१ गोलले पराजित गरेको थियो । उक्त खेलमा रोनाल्डोले ३२औँ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए ।

यस ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । त्यस्तै रोनाल्डो आफ्नो व्यावसायिक फुटबल खेल करिअरमा ५७औ ह्याट्रिक समेत पूरा गरे । रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गरे । पेलेको नाममा ७ सय ६७ गोल छ । उक्त रेकर्ड तोडेपछि पेलेले सामाजिक सञ्जालमार्फत रोनाल्डोलाई बधाईसमेत दिएका छन् ।

पेलेको रेकर्ड तोडेसँगै रोनाल्डोले अझै पनि धेरै कुराहरु हासिल गर्न बाँकी रहेको बताएका छन् । हाल ३६ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यहाँ हासिल गर्न बाँकी धेरै कुरा छन् । र मलाई विश्वास छ कि हामीले एकसाथ रहेर गर्न सक्छौँ । उद्देश्य धेरै छन् । अर्को रेकर्ड हासिल गर्नका लागि अगाडि बढिरहन्छु, यो क्रममा विश्राम लगाउँदिनँ । म सधैँ धेरैभन्दा धेरै कीर्तिमान बनाउन चाहन्छु ।’