जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा पहिलो दिनमै मागभन्दा धेरै आवेदन परेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार शुक्रबार दिउँसो २:४५ बजेसम्ममा ३ लाख ५५ हजार ५६९ जना आवेदकहरूले ४३ लाख ९८ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदनको संख्या सर्वसाधारणका लागि खुल्ला गरिएको भन्दा ९.०१ गुणा बढी हो ।
कम्पनीले आज माघ २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओ को कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेरो सेयरबाट पनि आईपीओ भर्न सकिन्छ ।
संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।