माघ २२, २०७८ शनिबार

झापा । नेपालको पूर्वी सीमाबाट दुई पटक बरामद भएका विस्फोटन गर्न मिल्ने उपकरण वा बम बनाउन प्रयोग हुने डेटोनेटरसहित अन्य सामग्री निकै घातक रहेको सुरक्षाकर्मीहरूले बताएका छन्।

तर त्यस्ता पदार्थ बरामद हुँदा पनि नेपालमा गहिरो अनुसन्धान हुने नगरेको सुरक्षाविज्ञहरू बताउँछन्।

चुनावको मिति घोषणा हुन लाग्दा यस्ता घटना हुनुलाई सामान्य रूपमा लिन नसकिने सेवानिवृत्त एक प्रहरी अधिकारीको भनाइ छ।

भारतबाट आएका एक व्यक्तिले एक विद्युतीय रिक्साका चालकलाई 'ई-रिक्साको ब्याट्री' भन्दै १,००० रुपैयाँ दिएर उक्त सामग्री नेपाल पठाएको बताइएको छ।

शङ्का लागेपछि ती चालकले सशस्त्र प्रहरीलाई खबर गरे र प्रहरीले उक्त परिमाणको वस्तु फेला पारेर सार्वजनिक गर्‍यो।

शुक्रवार पनि सशस्त्र प्रहरीले नै झापाको सीमावर्ती मेचीनगर नगरपालिका वार्ड नं २ बाहुनडाँगीमा एउटा अटोरिक्साबाट भरुवा बन्दुक बनाउन प्रयोग हुने सातवटा फलामको पाइप, ३.५ केजी बारुद बनाउन प्रयोग हुने गन्धक र ६० किलो बारुद बनाउन प्रयोग हुने सोडा बरामद गर्‍यो।