चैत ४, २०७७ बुधबार

एजेन्सी : स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडले युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ । 

बुधबार बिहान सम्पन्न खेलमा रियलले इटालियन क्लब एट्लान्टामाथि अन्तिम १६ को दोस्रो लेगमा ३–१ गोलको र समग्रमा ४–१ गोलको जितसहित रियल अघिल्लो चरणमा प्रवेश गरेको हो ।
यसअघि पहिलो लेगमा रियलले एट्लान्टालाई उसैको मैदानमा १–० गोलले हराएको थियो । दोस्रो लेगको खेलमा रियललाई जिताउन करिम बेन्जेमा, सर्जियो रामोस र मार्को एसेन्सियोले समान १/१ गोल गरे । यता एटलान्टाका लुइस फर्नान्डो मुरियल फ्रुटोले एक गोल फर्काए ।

जारी खेलको ३४औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल खान पुगेको थियो । दोस्रो हाफको खेलको ६०औँ मिनेटमा रामोसले पेनाल्टीमा गोल गरेपछि  रियलले आफ्नो अग्रता दोब्बर बनायो ।

८३औँ मिनेटमा फ्रुटोले गोल गर्दै अटलान्टालाई खेलमा फर्काउने कोसिस गरे । तर ८४औँ मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३–१ गोलको जित दिलाए ।