कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ गणेशपुरमा रहेको जनज्योती सामुदायिक वनभित्र मृत अवस्थामा एक चितल फेला परेको छ । मृत अवस्थामा भेटिएको चितललाई चितुवाले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरिएको छ ।
सोमबार बिहान वन निरीक्षण गर्न सामुदायिक वनमा गएका वनका पदाधिकारीले त्यहाँ एक मृत चितल भेटिएको बताएका छन् ।
उक्त वडाका गणेशपुर, वन्साह र ढकनियामा स्थानीयका गोठमा पसेर चितुवाले पशुहरू खाँदै आएको थियो । चितुवाले गाउँमै पसेर घरपालुवा जनावर खान थालेपछि स्थानीयहरू चिन्तित भएका छन् । चितुवाको निगरानी गर्न इप्रका झलारीले विभिन्न ठाउँमा सिसिटिभी क्यामेरासमेत जडान गरेको छ । गाउँमा पसेर आतङ्क मच्चाएको चितुवाका साथमा सानो बच्चा रहेको हुँदा आहारका लागि जङ्गल पसेको हुनसक्ने अनुमान छ ।