काठमाडौँ, २४ माघ । गृह मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले सरकारले गाँजामाथि लगाइएको प्रतिबन्ध औषधि प्रयोजनका लागि फुकाउने तयारी गरेको बताएका छन् । गृह सुधार योजनाअन्तर्गत गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले स्पष्ट पारेका हुन् ।
औषधि व्यवस्था ऐन २०३३ मा औषधि प्रयोजनका लागि गाँजा प्रयोग गर्न पाइने उल्लेख छ । औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाँजा प्रयोग गर्नका लागि अनुमति मागेका छन् । गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन् ।