काठमाडौँ – वि.सं २०७० सालमा महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लास्थित सन्तनगरको महाकाली नदी किनारमा पर्ने सीमास्तम्भ ढलेको ७ वर्षभन्दा पनि बढी भयो । ढलेको सीमास्तम्भ अहिले पनि ढलेकै अवस्थामा छ ।
बाढीले बगाएको सीमास्तम्भ करिब दुई सय मिटर तल नेपालतिर भेटिए पनि त्यसको पुनर्निर्माणको कार्य नभएको स्थानीयले बताएका छन् । सीमास्तम्भ नभएकै कारण खल्ला सन्तनगर क्षेत्रका स्थानीयलाई समस्या हुने गरेको छ ।
‘महाकाली नदी किनारै किनार नेपाली नागरिकको बसोबास छ, बसोबासका कारण भएर पनि सीमास्तम्भको बारेमा चिन्ता हुन्छ, सीमास्तम्भ बगेर गाउँतिर आएको छ, भारतीय हेपाहा प्रवृत्ति भएकाले पनि भारतीय पक्षले कुनै दिन गाउँनै हाम्रो हो भन्ने पो हो कि भन्ने चिन्ता स्थानीयलाई छ,’ स्थानीय हंसबहादुर पालले भने ।
भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले ८ वर्ष अगाडि ढलेको सीमास्तम्भ निमार्णमा सरकारले कुनै चासो नदिएको बताउँछन् ।
ब्रह्मदेव सीमा चौकी नजिकै टनकपुर ब्यारेकको बीचमा पनि सीमास्तम्भ थियो । तर हाल उक्त स्तम्भ बगेर गायब भएको छ । भारतले बाँध बाँधेर टनकपुर जलविद्युत् आयोजना बनाएपछि सिमास्तम्भ गायब भएको अवस्था छ । जसमा नेपाल सरकारले चासो नदिँदा स्थानीय नागरिकले भारतीयको हेपाहा प्रवृति सहनु पर्ने बाध्यता रहेको स्थानीयहरू दु:खेसो पोख्छन् ।