चैत ४, २०७७ बुधबार

काठमाडौं : फुटसल फाईभ एफसी, धरान सुनसरीले मंगलबार सम्पन्न प्रदेश १ फुटसल छनौट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा शहरी प्रतिद्वन्द्वी द राईजिङ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै फुटसल फाईभले उपाधि जितेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले ४–४ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ द राईजिङका लागि सुदिप गुरुङले दुई गोल गरे भने मिलन लिम्बु र रिवस मास्केले १/१ गोल गरे ।

यता फुटसल फाईभका लागि बिजय श्रेष्ठले दुई गोल गर्दा निरभ खड्का र प्रदेश जोशीले समान १/१ गोल गरेका थिए । पेनाल्टी सुटआउटमा भने फुटसल फाइभले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

फाइनलमा पुग्न सफल भएका यी दुवै टोली पोखरामा हुने अन्तिम चरणको ए डिभिजन फुटसल लिगका लागि छनौट समेत भएका छन् । साथै दुवै टोलीले तयारी स्वरुप नगद १–१ प्राप्त गर्ने समेत बताइएको छ ।