माघ २६, २०७८ बुधबार

इटालिनय सिरी 'ए' को शीर्ष स्थानमा रहेको इन्टर मिलान अर्को सिरी 'ए' क्लब रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको क्वाटरफाइनलमा रोमालाई २-० ले पराजित गर्दै इन्टरले अन्तिम चारमा स्थान बनाएको हो।

इन्टरले घरेलु मैदानमा भएको खेलमा इडन जेको र एलेक्सिस सान्चेजले पहिलो र दोस्रो हाफमा समान १-१ गोल गरेका थिए। मिलानले जेकोको गोलमार्फत खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। उनले इभान पेरिसिसको पासलाई पावरफुल भलिमार्फत टिमलाई सुरुवाती अग्रता दिलाए।

खेलमा पकड बनाएको इन्टरले दोस्रो हाफमा अग्रता दोब्बर बनायो। ६८औं मिनेटमा सान्चेजले माटियो डरमिएनको पासलाई सदुपयोग गर्दै खेलमा टिमको जित पक्का गरेका थिए। रोमाले पनि इन्टरको पोस्टमा केही सीमित आक्रमण गरे पनि सफल भएन।

त्यसअघि सान सिरो मैदानमा सुरुवातमै दोहोरो अग्रताबाट इन्टर चुकेको थियो। छैटौं मिनेटमा निकोलो बारेलासले गरेको शक्तिशाली प्रहार बारमा लाग्दा इन्टर सुरुवातकै दोहोरो अग्रताबाट चुकेको थियो।