माघ २७, २०७८ बिहिबार

कञ्चनपुर । रक्षा सचिवसहित बिहान सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी लगायतसँग भेट गरेर नेपाली सेनाका प्रमुख प्रधानसेनापति प्रभुराम शर्मा बिहीवार अपराह्न दार्चुला सदरमुकाम खलंगा नजिकको धाप पुगेका छन् । 

दिउँसो १२ बजेर ४६ मिनेटमा धनगढीबाट एनएशून्य–५८ हेलिकोप्टरमा उडेका प्रधानसेनापती शर्मा, रक्षा सचिव  किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारीसहित १३ जनाको टोली महाकाली नगरपालिका–७ स्थित मालिकार्जुन नमुना मावि धापमा अवतरण गरेको हो । टोलीले अहिले वडा नं. ५ खेट्टेबगरस्थित गुरुगोरख गुल्मको तालिम निरीक्षण गरिरहेको छ । 

धनगढीमा शान्ति सुरक्षालगायतका बिषयमा छलफल गरेपछि टोली दार्चुला आएको हो । शान्ति सुरक्षा, विपतका बेला सुदूरपश्चिम सरकारले गरेको भूमिकालगायतका बिषयमा टोलीले जानकारी लिएको मन्त्री जोशीले बताइन् । 

प्रधानसेनापतिको टोलीले धनगढीमा मुख्यमन्त्री र मन्त्रीहरूसँग लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा छलफल गरेको बताइए पनि ती क्षेत्रमा जाने कार्यक्रम भने नरहेको स्रोतले जनाएको छ । 

तर, आफ्नै मातहत निकायबाट भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र र सेनाले निर्माण गरिरहेको सडकका बारेमा भने जानकारी लिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।