माघ २९, २०७८ शनिबार

कञ्चनपुर । बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीकी पत्नी र उनी निकटका व्यक्तिहरू सुदूूरपश्चिम प्रदेश सरकारले वितरण गर्ने बाख्रापालन अनुदान पाउने सूचीमा परेका छन् । 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३० लाख अनुदान मेयर चौधरीकी पत्नी र उनी निकटका व्यक्तिलाई वितरण गर्न लागिएको हो । उक्त बजेटलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुुपन्छी विकास कार्यक्रमअन्तर्गत बाख्रापालन कार्यक्रमको अनुदान वितरण गर्नेछ ।

कात्तिक ८ गते अनुदानका लागि वडा कार्यालयमा २ सय ७९ जनाले आवेदन दिएका थिए । जसमध्ये २५ जना अनुदान पाउनका लागि छनोट भएका छन् । २५ जनाभित्र मेयर चौधरीकी पत्नी सुुस्मिता चौधरी, उनका स्वकीय सचिव जयबहादुर कुँवरकी आमा धनमति कुँवर, भाउजू बिस्नादेवी कुँवर, पूर्व स्वकीय सचिव (हाल नगरपालिकाको कम्प्युुटर अपरेटर) रवीलाल डगौरा, माओवादी केन्द्रकी केन्द्रीय सदस्य दीपा चौधरी, वडा कमिटी अध्यक्ष लछु राना, उनका भतिजा कन्नार राना, नगर कमिटी सदस्य इन्द्रा कुँवर परेका छन् ।

यसैगरी बेलौरी नगरपालिकाका ट्याक्टर चालक हरिदास चौधरी, वडा नम्बर ५ को कार्यालय रहेको घरका मालिक कल्यानसिंह पाल र गत वर्षसमेत अनुदान पाएका बालकुमार पोखरेल पनि अनुदान पाउनेको सूचीमा छन् ।

भेटेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले जारी गरेको सूचनामा व्यावसायिक किसानलाई अनुुदान दिने उल्लेख छ । तर, एउटा बाख्रासमेत नपालेकाहरू पनि अनुदान पाउनेको सूचीमा रहेको स्थानीय बताउँछन् ।