फागुन १, २०७८ आइतबार

सुरक्षा निकायमा संगठन प्रमुख विदेश जाँदा वा फिर्ता हुँदा निमित्तको कार्यभार सम्हालेका कमान्डर बिदाइ र स्वागतका लागि विमास्थलसम्म पुग्ने प्रचलन हो।

सोही प्रचलनअनुसार केही दिनअघि मात्रै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा उपचारका लागि जाँदा बिदाइ गर्न र स्वदेश फिर्ता हुँदा स्वागतका लागि निमित्तको कार्यभार सम्हालेका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्की विमास्थल पुगेका थिए। सुरक्षा निकायमा सांगठनिक च्यानअफ कमान्ड र अनुशासनलाई महत्त्वपूर्ण मानिन्छ।

तर, सशस्त्र प्रहरी बल नेपाल बलमा त्यस्तो देखिएन। घाँटीको नशामा रगत जमेपछि उपचारका लागि भारतको नयाँ दिल्ली गएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल बुधबार स्वदेश फिर्ता हुँदा निमित्त संगठन प्रमुखको जिम्मेवारी सम्हालेका अतिरिक्त सशस्त्र महानिरीक्षक पुष्पराम केसी विमानस्थलमा देखिएनन्।

उनी विमानस्थल नगएपछि अहिले सशस्त्र प्रहरीभित्र र गृह मन्त्रालयमासमेत यसको चर्चा भइरहेको छ। संगठनको काम व्यस्त भएरभन्दा पनि उनी आफ्नो पदका लागि दौडधुपमा भएको हुँदा विमानस्थल नगएको बताइएको छ।

एआइजी केसीले सुरक्षा संगठनको  मर्यादा र अनुशासनविपरीत काम गरेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

सशस्त्र महानिरीक्षक खनाल चार वर्षे पदावधि सकेर आगामी चैत २८ मा अनिवार्य अवकाशमा जाँदै छन्। खनालको अवकाशसँगै सशस्त्रको नेतृत्वमा को पुग्ने भन्ने चर्चा छ। एक नम्बर वरियतामा रहेका एआइजी केसी २१ दिनका लागि महानिरीक्षक बन्नका लागि अहिले दौडधुप गरिरहेका छन्। महानिरीक्षक खनाल आफूलाई आइजिपी हुनबाट रोक्न लागेको भन्दै असन्तुष्ट बनेका केसी विमानस्थन नगएको बताइएको छ।

सशस्त्र प्रहरी बल नेपालमा महानिरीक्षक खनाल र एआइजी केसीबीचको विवाद सार्वजनिक रूपमै प्रष्ट भएपछि तल्लो तहका प्रहरी कर्मचारी निराश बनेका छन्। सुरक्षा नियकायमा संगठन प्रमुख विदेश जाँदा वा स्वदेश फर्कंदा निमित्त प्रमुखको कार्यभार सम्हालेको कमान्ड विमानस्थलसम्म ल्याउन र पठाउन जाने प्रचल रहेको एक सुरक्षा अधिकारीले बताए।