पश्चिमा राष्ट्रहरूले युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएको अवस्थामा एक दर्जनभन्दा बढी राष्ट्रले आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन् । त्यस्तो आग्रह गर्ने राष्ट्रमा अमेरिका, यूके र जर्मनीसहितका मुलुक छन् ।
मस्कोले युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरेको छ । तर उसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ ।पछिल्लो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आक्रमणका कारण चुकाउनुपर्ने मूल्यबारे चेतावनी दिएका थिए ।
रुसले युक्रेनमाथि आक्रमण गरे ५० हजार सर्वसाधारणको मृत्यु हुनसक्ने अमेरिकी चेतावनी छ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने आक्रमणको चेतावनीले त्रास बढाउन सक्ने बताउँदै आएका छन् ।ह्वाइट हाउसले कुनै पनि समय युक्रेनमाथि आक्रमण सुरु हुनसक्ने चेतावनी दिएको छ । आक्रमण हवाई बम प्रहारबाट सुरु हुनसक्ने अमेरिकी भनाइ छ । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ‘ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा’ रहेको बताएका छन् ।आफ्नो प्रशासनलाई आक्रमणबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे(नगरेको जानकारी नरहेको तर क्रेमलिनले सैन्य कारबाहीको औचित्य सिद्ध हुने बहाना खोजिरहेको हुँदा तीव्र हवाई बम आक्रमणबाट थप कारबाही सुरु हुनसक्ने सलेभनले बताएका छन् ।
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताएका थिए । अस्ट्रेलिया भ्रमणका क्रममा उनले सीमावर्ती क्षेत्रमा थप सैन्य अधिकारीहरू आएसँगै तनावका बढ्दो संकेतहरू अमेरिकाले देखेको बताएका छन् ।‘हामी यस्तो अवधिमा छौँ जहाँ जुनसुकै बेला आक्रमण सुरु हुन सक्छ । त्यो शीतकालीन ओलिम्पिक्सकै समयमा पनि हुन सक्छ’ उनले भने ।
रुसले भने उक्त आरोपलाई उक्साहटपूर्ण अनुमानको संज्ञा दिएको छ । रुसी विदेश मन्त्रालयले पश्चिमा राष्ट्रहरूलाई गलत सूचना फैलाएको आरोप लगाएको छ । उत्तर एटलान्टिक सन्धि संगठन, नेटोसँग युक्रेनले कहिल्यै उक्त संगठनमा सामेल हुन नपाउने विषय सुनिश्चित गर्न पश्चमा राष्ट्र समक्ष रुसले माग गरेको छ । तनाव कम गर्नका लागि कूटनीतिक पहल जारी छ ।