फागुन १, २०७८ आइतबार

ओमानमा जारी चारदेशीय टी–२० क्रिकेट शृंखलामा यूएईले टेस्ट मान्यता पाएको आयरल्याण्डलाई पराजित गरेको छ । आइतबार ओमानको अल इमिरेट्समा भएको खेलमा यूएई १३ रनले विजयी भएको हो ।

पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६५ रन मात्र बनायो । 

नेपाल र ओमानसमेत सहभागी रहेको यो शृंखलामा यूएई एक मात्र अपराजित टिम हो । यसअघि शनिबार यूएईले नेपाललाई पनि २५ रनले पराजित गरेको थियो । 

आइतबार आयरल्याण्डका ओपनर पाउल स्टर्लिङ १ रनमा रन आउट हुँदा एन्डी बालबर्नीले ४२ रनको योगदान दिए । यस्तै ग्यारेथ डेलानी २० बलमा ५ चौका र २ छक्कासहित ४० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । 

यूएईका स्पिनर पलानियापन मयप्पनले २ विकेट लिए भने रोहन मुस्तफा र जहुर खानले १–१ विकेट लिए ।

यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५४ रन बनाएका थिए भने वृत्य अरविन्दले ५० रन जोडेका थिए ।  शृंखलाका बाँकी दुई खेल सोमबार हुनेछन् । नेपाल र आयरल्याण्ड तथा ओमान र यूएईबीच सोमबार खेल हुनेछन् । त्यसपछि २०२२ को टी–२० विश्वकप क्वालिफायरको खेल सुरु हुनेछन् ।