बिहारको चर्चित पशुपालन घोटालाको पाँचौँ सबैभन्दा ठूलो घटना आरसी ४७-ए ९६ मा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव दोषी पाइएका छन् । बीबीसी हिन्दीका अनुसार यो राँचीको डोरन्डा कोषागार (अहिले झारखण्ड राज्यमा छ) देखि गरिएको १३९.३५ करोड रुपैयाँको अवैध निकासीसँग जोडिएको प्रकरण हो ।
अदालतको फैसलापछि लालु यादव हिरासतमा रहनेछन् । सीबीआईको विशेष अदालत कोर्टका न्यायाधीश सुधाम्शुकुमार शशीले यो घटनामा लालुसहित कुल ९९ जीवित अभियुक्तहरूको भाग्यको फैसला गरेको छ । यो सूचीमा पूर्वमन्त्री डा. आर के राणा, विधायक ध्रुव भगतजस्ता राजनीतिज्ञसँगै बिहारका तत्कालीन अर्थ सचिव बेक जुलियस, राँचीका तत्कालीन आयुक्त अधीर चन्द्र चौधरी, डोरन्डा कोषागारका ट्रेजरी अधिकारी महेन्द्र प्रसादलगायत कैयौँ आपूर्तिकर्ता, भेटेनरी डाक्टर आदि छन् ।
यो घटनामा २४ जनालाई सफाइ दिइएको छ भने दोषी ठहर गरिएकालाई १८ फेब्रुअरीमा सजाय सुनाइनेछ ।