भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा कुवामा खसेर कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ । गाउँमा एक विवाह समारोह चलिरहेका बेला कुवामा खसेर कम्तीमा १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कुशीनगरको नौरंगिया टोला गाउँमा रहेको एक घरमा विवाहको कार्यक्रम भइरहँदा मानिसहरू कुवामाथि बसेर पूजा कार्यक्रममा सहभागी भएका थिए । अचानक कुवालाई छोपिएको भाग ढलेपछि दुर्घटना भएको हो ।
घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।
समाचारमा जनाइए अनुसार कुशीनगरका जिल्लाधिकारी एस राजलिंगमले भनेका छन्, ‘नौरंगिया टोला गाउँमा एक पुरानो कुवा थियो, जो स्लेपले ढाकिएको थियो । पूजापाठका क्रममा बालबालिका र महिलाहरू त्यसमा बसेका थिए । अचानक स्लेप तल खस्यो र मानिसहरू पनि खसे ।’