फागुन ५, २०७८ बिहिबार

 अफगानिस्तानका पूर्वराष्ट्रपति हामिद कारजईले देशका सबै बालिकाले विद्यालय जान पाउनुपर्ने बताएका छन् । तर अफगानिस्तानका बालिकाहरूको शिक्षाका बारेमा अन्तर्राष्ट्रिय समुदायले खासै चासो नदिएको उनले गुनासो गरेका छन् ।

बालिकाहरूलाई फेरि विद्यालय पठाउन अफगानिस्तानका लागि निकै महत्वपूर्ण हुने उनले बताए । उनले बालिकाले विद्यालय जान पाउनुपर्ने र महिलाहरूले जागिर गर्न पाउनुपर्ने अफगानिस्तानको माग रहेको पनि बताए ।

फ्रान्सको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् । उनले तालिबान सरकारले मान्यता प्राप्त गर्ने हो भने राष्ट्रिय रूपमा केही कदमहरू चालिन आवश्यक रहेको धारणा राखे । 

ुअन्तर्राष्ट्रिय समुदायबाट मान्यता पाउने विषयमा मेरो यति मात्रै भन्नु छ कि सबैभन्दा पहिले आफ्नो घर अर्थात अफगानिस्तानलाई व्यवस्थित गर्न जरुरी छु, अन्तर्वार्तामा उनले भनेका छन् । तालिबान सरकारले हरेक अफगानी नागरिकलाई एक उत्कृष्ट जीवन दिन सक्नुपर्ने उनले बताए । 

साथै उनले अमेरिकी बैंकमा रहेको अफगानिस्तानको सम्पत्तिबारे पनि छिटो भन्दा छिटो उचित निर्णय लिन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आग्रह गरेका छन् । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै बालिकाहरू विद्यालय जान पाएका छैनन् भने महिलाहरूले काममा निस्कन पाएका छैनन् ।