फागुन ८, २०७८ आइतबार

 नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८र७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएको आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा  बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गएको आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारतर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उलेख्य नाफा कमाएको बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘सञ्चालन खर्चमा कटौती,  प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको माथिल्लो तामाकोशीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो ।’

‘पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालु आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ,’ घिसिङले उल्लेख गर्नुभयो । 

प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश स् विद्युत् बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायहरुको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।

प्राधिकरणको पुँजीकृत सम्पत्ति १ खर्ब ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्ब ५२ अर्ब, सहायक कम्पनीहरुमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रहेको छ । तरल पुँजी ८५ अर्ब १ करोड रहेको छ ।