फागुन १०, २०७८ मंगलबार

शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज मङ्गलवार भएको पहिलो खेलमा पुलिस र एपीएफबीचको खेल एक–एक गोलको बराबरी टुङ्गिएको हो । 

खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको पहिलो मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।     त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपीएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा अरू गोल हुन सकेन । 

यो बराबरीसँगै पुलिसले १२ खेलबाट १२ अङ्क जोडेको छ । समान खेल खेलेको एपीएफको भने १५ अङ्क भएको छ । 

लिगमा बाह्रौँ चरणको खेल चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरूको  टुङ्गो लागिसकेको छ । लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परिसकेका छन् ।