फागुन १०, २०७८ मंगलबार

काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेट २०२२ अन्तर्गत आज भएको सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित भएसँगै विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । १७६ रनको लक्ष्य पछ्याएको नेपालले १९ औँ ओभरमा १०७ रन मात्र बनाउन सक्यो ।

ठूलो लक्ष्य पछ्याए पनि पहिलो ओभरमै २ विकेट गुमाएर दबाबमा परेको नेपालका ब्याट्सम्यानहरूले खुलेर खेल्नै सकेनन् । १३ औँ ओभरमा लगातार २ बलमा ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंंह ऐरी आउट भएपछि नेपालको सम्भावना लगभग समाप्त भएको थियो । १६ औँ ओभरमा बिबेक यादब र सन्दीप लामिछाने पनि आउट भए ।
जीतसँगै युएई भने विश्वकपका लागि छनोट भएको छ । प्रतियोगिताको फाइनल पुग्ने दुवै टिम विश्वकपका लागि छनाेट हुने भएकाले दुवै टिमका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण थियो ।

ओमानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो । उसका मोहम्मद वासिमले ७० र अरबिन्दले ४६ रन बनाए । वासिमले ४४ बलमा ४–४ चौका र छक्कासहित ७० रन बनाए । अरबिन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका जितेन्द्र मुखिया र अविनास बोहोराले ३–३ र सन्दीप लामिछानले १ विकेट लिए । अविनासले १७ औँ र जितेन्द्रले १८ औँ ओभरमा २–२ विकेट लिए । जितेन्द्रले ३ ओभरमा ३५ रन दिए भने अविनासले ४ ओभरमा ४६ रन दिए । ४ ओभर नै बलिङ गरेका सन्दीपले २४ रन खर्चिए ।

४ ओभर बलिङ गरेका कमलसिंह ऐरीले ३० रन दिएपनि विकेट भने लिन सकेनन् । दिपेन्द्रसिंह ऐरीले ३ ओभरमा १८ रन दिए भने २ ओभर बलिङ गरेका आरिफ शेखले २० रन खर्चिए।