फागुन ११, २०७८ बुधबार

महेश सिंह/सिरहा/ ११ फाल्गुन -सिरहाको भगवान्पुर गाउँपालिका वडा नम्बर २ अन्तर्गत नहरागाउँमा एक ठेकेदार ठगीमा परेका छन्। विकास निर्माणको कामअन्तर्गत वडा  नम्बर २ नहरामा आर.सि.सी.ढलान गर्न स्थानीय रामचन्द्र यादव, वडा अध्यक्ष तेजनारायण चौधरी,  वडा सचिव विनोदकुमार यादवले विकास निर्माणको काम गर्न स्थानीय बालकृष्ण यादव, दुनिलाल यादव, सैनी पासमानलगायत ३ जनालाई उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए।

उक्त वडामा काम गर्न उपभोक्ता समिति गठन गरी सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर-६ बस्ने हाल ठेकापट्टाको काम गर्दै आएका ठेकेदार उमेश नारायण सिंहसँग वडा अध्यक्ष तेज नारायण चौधरी, वडा सचिव विनोदकुमार यादव, स्थानीय नेता तथा पूर्वमन्त्री रामचन्द्र यादवले आर.सि.सी.ढलान गर्न तिनै उपभोक्ता समिति अध्यक्षको रोहबरमा मन्त्री यादवले लिखित सम्झौता पर्दैन भन्दै ठेकेदार सिंहसँग नाफाबाट ३ भागको एक भाग अफिस, एक भाग उपभोक्ता,एक भाग ठेकेदारले लिने भनी मौखिक रूपमा सर्त गरेका थिए।

विश्वासको भरमा मौखिक सम्झौता गरी काम गर्न सहमत भएका ठेकेदार सिंहले २०७८ असार ३ गते काम गर्न सुरु गरी श्रावण ४ गते सम्ममा सम्झौता भए अनुसारको काम पूर्ण रूपले समपन्न गरेका थिए। कामको दौरानमा कुनै रकम ठेकेदारलाई नदिई ठेकेदारले आफ्नै रकम खर्च गरी विश्वासकै भरमा उनलेे सम्पूर्ण काम सम्पन्न गरिसकेका छन्।

उपभोक्तामार्फत काम गराउने स्थानीय अगुवाहरूले उपभोक्तामार्फत १ करोड १६ लाख १ सय २१ रुपैया निकासा गरी ठेकेदारको सामग्री ल्याएको सिमेन्ट, छ्ड, गिट्टी, बालुवा मिक्चरलगायत लेवर ज्याला ठेकेदार मार्फत वितरण गरिसकेको र बाँकी रकम अझै सामग्री बालाहरूको पैसा तिर्न अझै २७ लाख बाँकी नै रहेको पीडित ठेकेदारले बताए।

ठेकेदार सिंहका अनुसार आफूले काम गरेको पैसा र सामग्रीवालाहरूको तिर्न बाँकि रहेको रकम पटक-पटक माग गरे पनि उनीहरूले पैसा दिन नमानेपछि आफू कानुनी प्रक्रियामा लागेको बताए।आफूले काम गरेको पैसा नपाएपछि दु:ख व्यक्त गर्दै पैसा लिन जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानमा समेत न्याय र आफू काम गरेको पैसा दिलाइदिन जिल्ला प्रशासन कार्यालय सिरहा त कहिले प्रहरी कार्यालय धाउने गरेका छन्।