फागुन १२, २०७८ बिहिबार

एजेन्सी, १२ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको घोषणा गरेसँगै युद्ध सुरु भएको छ । रुसी विमानहरूले युक्रेनको मुख्य शहरहरूमा आक्रमण गरेका छन् । पूर्वी युक्रेनमा रुसका स्थल र हवाई सैनिकहरू छिरेको दृश्यहरू अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले देखाइरहेका छन् ।


रुसको कदमविरुद्ध अमेरिकाले कडा आपत्ति जनाएको छ । उसले यसअघि नै युक्रेनसँग सीमा जोडिएका देशहरूमा सैनिक पठाइसकेको छ ।

यूरोपेली युनियनकी प्रमुख उरसुवा भोत डिर लियन रुसमाथि आर्थिक प्रतिबन्धको आह्वान गरेकी छिन् । युरोपेली युनियन सम्वद्ध देशहरूमा भएका रुसी धन फ्रिज गर्ने समेत जनाएकी छिन् । बेलायतले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले यूरोपलाई युद्धमा धकेल्न लागेको आरोप लगाइसकेका छन् । उनले सन् १९४५ पछिको ठूलो युद्धमा यूरोपलाई धकेल्न लागेको आरोप बीबीसीसँगको अन्तवार्ताका क्रममा रुसमाथि लगाएका हुन् ।

जोन्सनले भनेजस्तै रुसविरुद्ध कदम चाल्न अमेरिका नेतृत्वको नाटोसम्वद्ध पश्चिमा देशहरूको आकस्मिक बैठक डाकिएको छ । उक्त बैठकले कठोर निर्णय लिने चर्चा छ । त्यस्तो अवस्थामा पश्चिमा देशहरू रुसविरुद्ध युद्धमा होमिनसक्छन् । त्यतिबेला यूरोपमा ठूलो रक्तपातको खतरा रहन्छ ।

रुसी सैनिक छिरेपछि युक्रेनका कतिपय सर्वसाधारण छिमेकी देशहरूतर्फ बढेका छन् । यसले ठूलो मानवीय सङ्कट ल्याउन सक्छ । युक्रेनका प्रमुख शहरहरूमा दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड लाग्न थालेको छ ।

रुसले चालेको कदमले विश्वको अर्थतन्त्रमा प्रभाव पर्न थालिसकेको छ । कच्चा तेलको मूल्यवृद्धि भएको छ । सुनको पनि मूल्य वृद्धि भएको छ । ग्याँसको मूल्य वृद्धिले यूरोपमा ठूलो सङ्कट आउने खतरा बढेको छ ।

युक्रेनमाथि रुसी हमलापछि पुटिनले अमेरिकासहित पश्चिमा देशहरूलाई चेतावनी समेत दिएका छन् । युक्रेनमाथि चालेको कदमविरुद्ध सैन्य तहमा उत्रिएमा गम्भीर क्षति भोग्नुपर्ने चेतावनी दिएका हुन् । यसले ठूलो सङ्कट आउन सक्ने देखिएको छ । रुसको कदमविरुद्ध अमेरिकासहित नाटो देशहरू सैन्य तहमा उत्रिएमा यूरोप युद्धमा भाँसिनसक्छ ।