भरतपुर, फागुन १५ गते । चितवन राष्ट्रिय निकुञ्जबाट घडियाल गोही र गैँडा बाढीले बगाएर भारत पुगेका घटना यसअघि सार्वजनिक भएका छन् । पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएका छन् । प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने अन्य तथ्यले पनि बाघ बिस्तारै भारतीय भूमिमा पुगेको देखिने बताउनुहुन्छ । पछिल्लो पटक सन् २०१८ मा गरिएको बाघ गणनामा देशैभर बाघको सङ्ख्या बढ्दा चितवन निकुञ्जमा भने घटेको थियो । यसको प्रमुख कारण नै यहाँका बाघ बसाइँ सरेर अन्यत्रै गइरहेका छन् भन्ने बुझ्न गाह्रो पर्दैन,” उहाँले भन्नुभयो ।
सन् २०१८ मा बाघको गणना हुँदा चितवन निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा १२० र सन् २००९ को गणनामा ९१ वटा बाघ चितवनमा रहेको तथ्याङ्क छ । उता, सन् २००८ सम्म एउटामात्रै बाघ भएको वाल्मीकिमा भने बाघको सङ्ख्या बढेर २०१८ को गणनामा ३० भन्दा माथि पुगेको पाइन्छ । प्रमुख डा. लामिछानेका अनुसार वाल्मीकिमा सन् २०१३ को गणनामा १६ वटा भेटिएका थिए ।
“सन् २०१३ को बाघ गणनामा चारवटा बाघ चितवन निकद्रञ्ज र वाल्मीकि दद्रवैतर्फ क्यामरा ट्र्यापिङमा परेको देखियो । यसले पनि चितवनका बाघ वाल्मीकि सर्दै छन् भन्ने देखाउँछ,” डा. लामिछानेले भन्नुभयो ।
चितवन निकुञ्ज बाघको प्रमुख वासस्थान हो । चितवनका बाघ चुरे पहाड हुँदै भारतको सीमाक्षेत्रमा रहेको वाल्मीकि पुग्ने गरेको बताइन्छ । त्रिवेणीवारि वाल्मीकि आश्रमदेखि माडीको सोमेश्वर पहाडसम्म चितवन राष्ट्रिय निकुञ्ज र वाल्मीकि बाघ संरक्षण केन्द्र जोडिएको छ । विश्व वन्यजन्तु कोषअन्तर्गत रहेको तराई भू-परिधि कार्यक्रमका परामर्शदाता रामप्रीत यादव चितवनका बाघ वाल्मीकि बाघ संरक्षण केन्द्रतिर सर्ने गरेको कुरा स्वीकार गर्नहुन्छ । चितवनभन्दा वाल्मीकिमा बाघका लागि उपयुक्त वातावरण र पर्याप्त क्षेत्रफल बनाउँदै लगिएको छ ।