धनुषा । गत माघ १५ गते सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको कार्यालयमा भएको चोरीमा अध्यक्ष कामेश्वर मण्डलको संलग्नता रहेको संस्थापक अध्यक्ष रामदयाल महतोले एक पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ६ स्थित उक्त सहकारीको कार्यालयबाट २\३ थान ल्यापटप र २ हजार ५ सय रुपैयाँ चोरी भएको थियो । यद्यपि अध्यक्ष मण्डलले कार्यालयबाट १६ लाख रुपैयाँ चोरी भएको भन्दै उजुरी दिएका थिए ।
संस्थापक अध्यक्ष महतोले सहकारीको कार्यालयमा १६ लाख रुपैयाँ राख्ने के प्रयोजन थियो भन्दै प्रश्न गरे । सहकारीका संस्थापक सदस्य शोभित महतोले संस्थाको रकम अपचलन गरेर त्यसलाई ढाकछोप गर्न अध्यक्ष मण्डल र प्रबन्धक बृजेन्द्रकुमार यादवले चोरीको नाटक गरेको आरोप लगाए ।
यता उजुरीको आधारमा धनुषा प्रहरीले ३ जनालाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा मुद्दा चलाएको जनाएको छ । जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि पठाएको छ भने २ जनालाई ८०\८० हजार रूपैयाँ धरौटीमा रिहा गरेको छ । तर संस्थापक सदस्य शोभित महतोले भने प्रहरीले वास्तविक चोरलाई पक्राउ नगरेको गुनासो गरे ।
२९ लाख रुपैयाँको पुँजीबाट शुरु भएको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको पुँजी १६ करोड रुपैयाँसम्म रहेको छ भने सो सहकारीमा हाल १ हजार ३ सयभन्दा बढी शेयर धनी छन् ।