फागुन १७, २०७८ मंगलबार

काठमाडौँ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढेको सूची मंगलबार प्राप्त भएको निगमले विज्ञप्ति जारी गरेर जनाएको छ ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ ।

यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्यास प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको छ ।

प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा ६६५ रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

निगमका अनुसार अब निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने देखिएको छ ।

मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको छ ।
नेपालमा भने पेट्रोलियमको मूल्य यसअघिकै कायम छ । निगमले भारतीय आयल निगमबाट भाउ बढेर आएको जानकारी गराए पनि नेपालमा मूल्य वृद्धि गरेको छैन ।

नयाँ मूल्यसूची