युक्रेनको राजधानी किभमा बिहीबार बिहान रुसि सेनाद्वारा शृङ्खलाबद्ध बिस्फोटहरू गराइएका छन् । एक बिहानै पाँच ओटा स्थानमा शृङ्खलाबद्ध बिस्फोटहरू भएका थिए । तीमध्ये दुई शक्तिशाली बिस्फोटहरू युक्रेनको राजधानी सहरमा भएका थिए ।
त्यसलगत्तै दुई ओटा बिस्फोटहरू मेट्रो स्टेसनहरूमा गराइएका थिए । अर्को बिस्फोट राजधानी नजिकै भएको थियो । हवाई आक्रमणका साइरहनहरूले सहरमा थप त्रास सिर्जना गरेको थियो । सेनाले प्रहार गरेको मिसाइल हमलामा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्ण रूपमा क्षति भएको छ ।
बिस्फोटका कारण लागेको आगो निभाउन अग्नि नियन्त्रकहरू परिचालन गरिएका छन् । यसैबीच, रुसी विदेशमन्त्री सर्जेइ लाभरोभले तेस्रो विश्व युद्ध आणविक र झन विनाशकारी हुने चेतावनी दिएका छन् । यसअघि राष्ट्रपति भ्लादमिर पुटिनले रुसी सेनामाथि जाइलागे त्यसले नराम्रो परिणाम ल्याउने चेतावनी दिएका थिए ।
किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरूमा शरण लिएको राष्ट्रसंंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ ।
ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्, ‘बन्दुकहरू बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस ।’
युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।