२० फागुन, काठमाडौं । संसदीय समितिको एक अध्ययन प्रतिवेदनले राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर नेपालबाट भारतमा सुपारी तस्करी हुने गरेको खुलासा गरेको छ ।
भारतमा तस्करी गर्नकै लागि नेपालमा सुपारी आयातको खेलो फड्को हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समिति अन्तर्गतको एक उपसमितिले तयार गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ ।
नेपाल र भारतबीचको भन्सार दरमा भएको ठूला अन्तरको फाइदा उठाउँदै नेपालबाट अनौपचारिक क्षेत्रका व्यापारीहरू तस्करीमा संलग्न रहेको र उनीहरूले सरकारका उच्च पदस्तलाई प्रभावमा पार्ने गरेको प्रतिवेदनमा भनिएको छ ।
सांसद रमेशजंग रायमाझी संयोजकत्वको पाँच सदस्सीय उपसमितिले १० महिनासम्म लगाएर तयार पारेको अध्ययन प्रतिवेदनमा सुपारीको अवैध तस्करीकै कारण नेपाल भारत व्यापार वार्तामा नेपाली पक्षलाई निकै अप्ठ्यारो परेको पनि उल्लेख छ ।