फागुन २२, २०७८ आइतबार

आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगितामा भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि १०८ रनको प्रभावसालि जित निकालेको हो।

खराब सुरुवातका बाबजुद २४५ रनको उच्च स्कोर बनाएको भारतविरुद्ध पाकिस्तान भने ४३ ओभरमा अलआउट हुँदै १४७ रनमै समेटियो। पाकिस्तानका लागि सिद्र अमिनले बनाएको ३० रन सर्वाधिक रह्यो। त्यस्तै डियना वेगले २४ रन बनाउँदा फातिमा सानाले १७ रनको योगदान दिएकी थिइन्।

भारतका लागि राजेश्वरी गायकवाडले सर्वाधिक ४ विकेट लिँदा झुलन गोस्वामी र स्नेह राणाले दुई(दुई विकेट लिए। यसैगरी मेघना सिंह र दीप्ति शर्माको एक(एक विकेट रह्यो।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनायो।

एक समय ११२ रनको अवस्थामा ६ विकेट गुमाएको भारतलाई स्नेह राना र पूजा भास्ट्रकारले सम्मानजनक स्कोरमा पुर्‍याएका थिए। उनीहरूले सातौं विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए।

राना ५३ रनमा अविजित रहँदा पूजा ६७ रनमा आउट भएकी थिइन्। त्यसअघि स्मृति मन्धनाले ५२ रनको योगदान दिएकी थिइन्। त्यस्तै दीप्ति शर्माले ४० रन जोडिन्। पाकिस्तानका लागि नसरा सन्धु र निदा दारले दुई(दुई विकेट लिए।