सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गएरातिदेखि भीषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भीर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भीर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएकोे जानकारी दिए । आगो नियन्त्रण गर्नका लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ ।
आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए ।
अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीका विषयमा जानकारी नभएको बताए ।