धनगढी । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७८ मा आयोजना तथा साविकको विजेता सुदूरपश्चिम -११ माथि जित निकाल्दै हिमालय शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार धनगढी रंगशालामा भएको खेलमा घरेलु टोलीमाथि शर्माले २-१ गोल अन्तरको जित निकालेको हो । शेर्पाको जितमा पिस्टोन मुटुम्बा र सुरेश कुमालले १/१ गोल गरे । यता घरेलु टोली सुदूरपश्चिम एघारले भने उपहार गोल पायो । शेर्पाका दिपेस पण्डितले आत्मघाती गोल गरे ।
खेलको ३४औं मिनेटमा शेर्पाको लागि पिस्टोन मुटुम्बाले गोल गरि पहिलो हाफ भरि १-० गोलको अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको खेलको ५५औं मिनेटमा सुरेश कुमालले गोल गरि २-० गोलको अग्रता दिलाएका थिए ।
२-० गोलले पछि परको घरेलु टोलीले खेलको ६७औं मिनेटमा खेलमा फर्किने संकेत गर्यो ।शेर्पाका दिपेस पण्डितले आत्मघाती गोल गरे । त्यसपछि बाँकी समय थप गोल नहुँदा शेर्पा विजयी भयो ।
उक्त जितसँगै शेर्पाले अब सेमिफाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटबल क्लब सँग फाइनल प्रवेशको लागि खेल्नेछ । यस्तो भोलि मंगलबार हुने अन्तिम क्वाटरफाइनलको खेलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले बागमती युथ क्लबको सामना गर्नेछ । मछिन्द्र सिधै बाई पाएर क्वाटरमामा प्रवेश गरेको हो भने बागमतीले ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गरेको न्यूरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको थियो ।