फागुन २४, २०७८ मंगलबार

नेपालले एकदिवसीय पहिलो अभ्यास खेलमा सोमबार श्रीलंकाको नेभीलाई १ सय ११ रनले पराजित गरेको छ।

श्रीलंकाको कोलम्बोस्थित नेभी मैदानमा २ सय १५ रनको मध्यम लक्ष्य पछ्याएको नेभी २८.५ ओभरमा मात्र १ सय ३ रनमा अलआउट हुँदा नेपालले श्रीलंका भ्रमणमा सुखद सुरुआत गरेको हो। संयुक्त अरब इमिरेट्स (युएई)मा अर्को साताबाट सुरु हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाल अहिले श्रीलंकाको घरेलु टोलीसँग एकदिवसीय अभ्यास खेल खेलिरहेको छ। तथापि, नेपालको निराशाजनक ब्याटिङले अझै पनि निरन्तरता पाएको छ। ५ रन जोड्दा नेभीले मायान्था वारुनालाई पहिलो विकेटको रूपमा गुमायो।

थप ८ रन जोड्ने क्रममा नेभीले दुई विकेट नै गुमाउन पुग्यो। तेस्रो ओभरको अन्तिम बलमा नुवान्था केसरालाई दोस्रो विकेटको रूपमा गुमाएको नेभीले चौथो ओभरकै तेस्रो बलमा इड्रिवेरा बिएचलाई गुमाउन पुग्यो। ३२–४ को अवस्थामा रहेको नेभीको इनिङ पाँचौं विकेटका लागि मधुसन्का मदुरा र सञ्जिवाले ३० रनको साझेदारी गर्दै उकास्ने प्रयास गरे। तर १६औं ओभरको पहिलो बलमा सञ्जिवा पवेलिन फर्किएपछि नेभीको इनिङ थप धरमरायो।

सञ्जिवाले २५ बलमा २ चौकाको मद्दतमा १५ रन जोडे। थप २० रन जोड्ने क्रममा नेभीका मधुसन्का पनि पवेलियन फर्किए। मधुसन्काले ६८ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३९ रन बनाए। उनी नेपालका कप्तान सन्दीप लामिछानेद्वारा नवौं विकेटका रूपमा एलबिडब्लु आउट भए। दिनेश मधुशानले १४ रनको योगदान गरे। सन्दीपले ७.५ ओभरमा एक मेडनसहित १८ रन खर्चेर तीन विकेट लिए। विक्रम सोब र ज्ञानेन्द्र मल्लले समान दुई विकेट निकाल्दा करण केसी, सागर ढकाल र कलमसिंह ऐरीको नाममा समान एक विकेट रह्यो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३७.१ ओभरमा अलआउट हुनुअघि २ सय १४ रनको मध्यम योगफल तयार पारेको थियो। २५ रनमा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएको नेपालले थप १८ रन जोड्दा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १ रनमै बोल्ड भए। कुशलले १३ बलमा तीन चौकासहित १६ रन जोडे। अर्का ओपनर आसिफ शेखले दीपेन्द्रसिंह ऐरीसँग २७ रनको साझेदारी गरेका थिए।

तर, घरेलु टोलीका बलर अवातले आसिफलाई एलबिडब्लु आउट गर्दै त्यो साझेदारी तोडे। आसिफले ३८ बलमा पाँच चौकाको मद्दतमा ३६ रन बनाए। ८४–४ को स्थितिमा रहेको नेपालको इनिङ पाँचौं विकेटका लागि दीपेन्द्र र विनोद भण्डारीले ६९ रनको साझेदारी गर्दै उकासे।

दीपेन्द्रले ५२ बलमा दुई चौका र एक छक्का मद्दतमा ४३ रनको योगदान गर्दा विनोदले २५ बलमा दुई चौकासहित २२ रन जोडे। कमलसिंह ऐरी र करण केसीले समान १६ रनको योगदान गरे। नेभीको बलिङमा अकुरोगोडाले चार र अवातले तीन विकेट लिँदै नेपालको इनिङ ध्वस्त पारे।