फागुन २५, २०७८ बुधबार

काठमाडौँ, फागुन २५ गते । माओवादी द्वन्द्वका समयमा नेपाली सेनाले बसोबासका लागि बनाएका बङ्करहरू अब ब्यारेकमा परिणत हुँदै गएका छन् ।  नेपाली सेनाको बसोबासलाई व्यवस्थित तुल्याउन अगाडि सारिएको ‘बङ्करबाट ब्यारेक’ कार्यक्रम प्रभावकारी बनेसँँगै ती बङ्करहरूलाई विस्थापित गरी ब्यारेक बनाउँदैै लगिएको हो  ।
यस कार्यक्रमअन्तर्गत ६० प्रतिशत संरचना निर्माण सम्पन्न भइसकेको छ भने बाँकी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

माओवादी द्वन्द्वको समयमा नेपाली सेनाले बसोबासका लागि स्थानीय कच्चा पदार्थ प्रयोग गरी निर्माण गरेको संरचना सुरुङलाई ‘बङ्कर’को नाम दिइएको थियो । अझै पनि ती संरचना विस्थापित नहुँदा सैनिकहरू बङ्करमै बस्न बाध्य छन् । बङ्करमा बस्न बाध्य सैनिक जनशक्ति वर्षामा बाढीपहिरो, गर्मीमा सर्प र लामखुट्टेको टोकाइको जोखिम भोग्दै आएका छन् ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता नारायण सिलवालका अनुसार ‘बङ्कर टु ब्यारेक’ कार्यक्रमअन्तर्गत मुलुकभरि पाँच हजार ८५० नयाँ संरचना निर्माण गर्नुपर्नेमा आर्थिक वर्ष २०७७/७८ सम्म तीन हजार ३६६ संरचना निर्माण सम्पन्न भइसकेका छन् भने चालू आर्थिक वर्षमा थप एक सय नयाँ संरचना निर्माण सम्पन्न हुनेछ ।