फागुन २५, २०७८ बुधबार

काठमाडौं । निरू ढुङ्गाना नेपाली सेनाकी एकमात्र पहिलो महिला पाइलट हुन् । उनलाई सानैदेखि एउटा ख्वाब थियो ; उनलाई जसरी पनि पाइलट नै बन्नु थियो ।

उनका शिक्षक बुवाले पनि निरूको चाहाना पछ्याउन भरपुर साथ दिए।

उनी पाइलट पढ्नका लागि अमेरिकाको टेक्सास स्थित डेल्टा कलेज पुगिन्।

टेक्सासबाट २० महिने पाइलट कोर्ष सकेर फर्किएलगत्तै २०६८ सालमा नेपाली सेनामा भर्ति भइन्। त्यसयता निरूले नेपाली सेनाको स्काई ट्रक उडाउँदै आएकी छिन्। उनी सेनाकी मेजर(सेनानी) हुन्।

'मेरो परिवारमा नेपाली सेनामा कोही पनि हुनुहुन्थेन। हाम्रो परिवारबाट सेनामा जाने म नै पहिलो व्यक्ति हो', निरूले भनिन्।

झण्डै एक लाखको संख्यामा रहेको नेपाली सेनामा ५ हजार महिला छन्। सेनासँग अहिले ४३ पाइलट छन्। तर निरू सेनाकी पहिलो र एक मात्र महिला पाइलट हुन्।

'नेपाली सेनाले महिला अफिसरहरू २०६२ साल देखि नै लिन सुरु गरेको हो। निजी र सरकारी क्षेत्रका एयरलाइन्सहरूमा पनि पहिला देखि नै महिला पाइलट छन्', निरूले भनिन्, 'तर नेपाली सेनामा भने मैले पहिलो पाइलट बन्ने मौका पाएँ।'

निरू सेनाको स्काइ ट्रक लिएर त्रिभुवन विमानस्थलबाट देशभरका विमानस्थल पुग्छिन्।  

नेपालको डाडाकाँडा, नेभिगेसन सिस्टमको अभाव र बदली भइरहने मौसम भने जहाज उडाउन चुनौतीपूर्ण छ।


चुनौति लिन चाहने र ग्ल्यामर्स पेशा रोज्न चाहानेहरूलाई पाइलट र सेनामा आउन उनको आग्रह छ।