चैत ६, २०७७ शुक्रबार

एजेन्सी : इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता यूईएफए युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।


शुक्रबार बिहान सम्पन्न अन्तिम १६ को दोस्रो लेग खेलमा इटालियन क्लब एसी मिलानमाथि १–० गोलको कठिन जित निकाल्दै समग्रमा २–१ गोलको नतिजासहित युनाइटेड अघिल्लो चरणमा प्रवेश गरेको हो ।

यसअघि युनाइटेडको मैदानमा सम्पन्न पहिलो लेगमा दुवैले १–१ गोलको बराबरी खेलेका थिए । यता मिलानको मैदानमा सान सिरोमा युनाइटेडलाई जिताउन पल पोग्बाले निर्णायक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औँ मिनेटमा गोल गर्दै पोग्बाले युनाइटेडलाई जिताए । यस खेलकाे ६५औँ मिनेटमा मिलानका स्ट्राइकर ज्लाटान इब्रहामिमोभिक पूर्वक्लबविरुद्ध मैदान उत्रिए पनि गोल गर्न सकेनन् ।