कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई समिति सदस्यले कार्यकक्षमै थुनेका छन् । जिल्ला समन्वय समितिका सदस्य सीतादेवी भण्डारीसहितका सदस्यले बुधबार दिउँसो कार्यालय प्रमुख चौधरीलाई थुनेका हुन् ।
चौधरीले समितिका पदाधिकारी र कर्मचारीको तलब÷भत्ता दिन आनाकानी गर्नुका साथै लामो समयदेखि समन्वय नगरी हिँडेकाले कार्यकक्षमै थुनेको सदस्यहरूले बताएका छन् ।
गत पुस महिनाको दोस्रो साता कार्यालयमा चौधरी प्रमुखका रूपमा हाजिर भएयता जनप्रतिनिधि र कर्मचारीले सेवासुविधा नपाएको आरोप छ । करिब आधा घण्टापछि समन्वय समिति पुगेको प्रहरी टोलीले कार्यालय प्रमुखको ढोकामा लगाएको ताला फुटाएको छ ।
त्यसैगरी समन्वय समितिका कार्यालय प्रमुख चौधरीले कर्मचारी र प्रशासनको काममा समन्वय समितिका प्रमुखसहित पदाधिकारी हाबी हुँदा समस्या भएको दाबी गरे । “आफन्तलाई जागिर खुवाउने अनि महिनामा एकै पटक हाजिर लगाएर तलब खुवाएको देखियो ।” चौधरीले भने, “अहिले पनि समितिका कति जना करारमा भर्ना गरिएका छन् त्यसको जानकारी अहिलेसम्म मलाई दिइएको छैन ।”
उनले पदाधिकारी र कर्मचारीको तलब खुवाउने विषयमा केन्द्रमा समेत आफूले पहल गरिरहेको बताए । “तलब खुवाउने विषयमा कोष तथा लेखा नियन्त्रणको कार्यालयमा अख्तियारबाट फोन आयो”, उनले भने, “त्यसपछि केही समयदेखि त्यो विषयमा अलमल भयो ।” कार्यालय प्रमुखको कक्षको ताला खुलेको केही बेरमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले समन्वय समितिका प्रमुख फैरु तामाङको कार्यकक्षमा ताला लगाएका थिए ।