काठमाडौँ । भारतको पन्जाब प्रान्तमा आम आदमी पार्टी (आप)को सरकार बन्ने लगभग पक्कापक्की देखिएको छ । कूल ११७ सिट भएको पन्जाबमा आम आदमी पार्टीले आवश्यक बहुमतभन्दा बढी सिटमा अग्रता लिएकाले आपको सरकार बन्ने पक्काजस्तै बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मतगणना चल्दै गर्दा आपले ९१ सिटमा अग्रता लिएको छ । पन्जाबमा सरकार बनाउन ५९ सिट जिते पुग्छ । कांग्रेसले १४ सीटमा मात्र अग्रता लिइरहेको छ ।
पन्जाबमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम आदमी पार्टीमा प्रवेश गरेका थिए । उनी सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन् । उनी पन्जाबको नयाँ मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै रहेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहीबार भएको पाँच वटा राज्यको विधान सभा चुनावको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको हो ।