चैत ६, २०७७ शुक्रबार


एजेन्सी : युरापको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको अन्तिम आठ अर्थात् क्र्वाटरफाइनल ड्र सार्वजनिक हुँदैछ ।

यूईएफएको केन्द्रीय कार्यलय स्वीट्जरल्याण्डको जेनेभामा एक समारोहबीच अपराह्न ४ः४५ बजे ड्र सार्वजनिक हुँदैछ ।

यस ड्रमा आठ टोलीका एक–अर्काका प्रतिद्वन्द्वीको टुङ्गो लाग्नेछ । गत बुधबार राति दुई खेल भएसँगै क्वार्टरफाइनल पुग्ने आठै टोलीको टुङ्गो लागेको थियो ।

उक्त खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगलाई २–० गोलले र समग्रमा ३–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । यस्तै  अर्को खेलमा जर्मन क्लब तथा साविक विजेता बायर्न म्युनिख इटालियन क्लब अटलान्टामाथि २–१ गोलको तथा समग्रमा ६–२ को जितसहित बायर्न क्वार्टरफाइनल पुग्यो ।

यसअघि मङ्गलबार राति इटालियन क्लब एट्लान्टालाई हराउँदै स्पेनिस क्लब तथा सर्वाधिक १३औं पटकको विजेता रियल मड्रिड र जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाचमाथि जित्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी क्वार्टरफाइनल प्रवेश गरे ।

त्यसअघि पोर्चुगलको क्लब पोर्टोले इटालियन क्लब युभेन्टसलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गर्दा जर्मन क्लब बोरुसिया डर्टमुण्डले स्पेनको सेभिल्लालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।

यसैगरी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनको बार्सिलोनालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने इङ्ग्लिस क्लब लिभरपुलले जर्मनीको आरबी लेइपिजलाई हराएर अन्तिम आठमा स्थान पक्का गरेको हो ।