फागुन २६, २०७८ बिहिबार

भारतीय पूर्वक्रिकेटर नवोजित सिंह सिद्धु पन्जाबको विधान सभा चुनावमा पराजित भएका छन्।

अमृतसर पूर्वबाट उम्मेदवार बनेका सिद्धु बिहीबार भएको मतगणनामा पराजित भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

त्यहाँ आम आदमी पार्टीका जीवन ज्योत कौर निर्वाचित भएका छन्।

सिद्धु पन्जाबमा कंग्रेस आईका अध्यक्षसमेत थिए। अघिल्लो विधान सभा चुनावमा बहुमत ल्याएको कंग्रेस आई यही बीचमा विभाजन भएको थियो। विभाजित भएपछि कांग्रेसले १९ सिटमात्र जित्ने देखिएको छ।

११७ सदस्यीय विधान सभामा आपका उम्मेदवार ९१ सिटमा अगाडि रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।


उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिँह धामी विधानसभा चुनावमा पराजित भएका छन् । उनी खतिमा विधानसभाबाट कँग्रेस आईका भुवनचन्द्र काप्रीसँग पराजित भएका हुन् ।

७ हजार मतान्तरले धामी पराजित भए पनि उनको दल भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ । उत्तराखण्डमा भाजपाको दोस्रो कार्यकाल सरकार बन्ने भएको छ । तर, धामी मुख्यमन्त्री हुने छैनन् ।

यसअघि तीरथसिंह रावतको ठाउँमा गत वर्ष धामीलाई मुख्यमन्त्री बनाइएको थियो । धामी ४५ वर्षमा मुख्यमन्त्री बनेर उत्तराखण्डको सबैभन्दा कान्छा मुख्यमन्त्री बन्न सफल भएका थिए ।