फागुन २७, २०७८ शुक्रबार

देशकै प्रतिष्ठित औद्योगिक घराना केडिया अर्गनाइजेसनका अध्यक्ष हिरालाल केडियाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । 

वीरगञ्जस्थित केडिया निवासमै पुगेर देउवाले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । 

उनले केडियाकी पत्नी परमेश्वरी देवी, छोराहरू रमेश, सुरेश, राजेश, बिमल एवं समस्त केडिया परिवारप्रति समवेदना प्रकट गरे । 

देउवासँगै खानेपानीमन्त्री उमाकान्त चौधरी, मधेश प्रदेशका मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्रीहरू रमेश रिजाल, अजय चौरासिया, सुरेन्द्रप्रसाद चौधरीलगायतले पनि केडियाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

हिरालाल केडियाको फागुन २४ गते ८६ वर्षको उमेरमा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको थियो । निधन भएको भोलिपल्ट केडियाको सर्लाहीको बागमती नदीमा अन्तिम संस्कार गरिएको थियो । 

अन्तिम संस्कारका बेला मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत ठूलो जनमानसको उपस्थिति थियो । 

केडिया नारायणी उपक्षेत्रीय अस्पतालमा दुई कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनले आफ्नो कार्यकालमा नमूनायोग्य र प्रसंशायोग्य काम गरेका थिए । 

उनी केडिया अस्पतालको अध्यक्ष पनि थिए ।