काठमाडौं, फागुन २८। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत कर्मचारीलाई आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रूपमा तयार रहन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हेक्वा, श्रीअन्तु इलामको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउनसक्ने भएकाले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिए ।
उनले नम्बर ३८ रिजर्भ गण हेक्वा, लखनपुर झापाको समेत उद्घाटन गर्र्दै फौजको गहना भनेको अनुशासन भएकाले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखि संगठन र राष्ट्रप्रति इमानदार, बफादार, नैतिकवान्, अनुशासित र उच्च समर्पणभावका साथ आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिए ।