फागुन २८, २०७८ शनिबार

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले पुनः तेस्रो स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा काडिजलाई २-१ ले पराजित गर्दै एट्लेटिकोले बार्सिलोनालाई पछि पारेको हो।

एट्लेटिकोले जारी सिजनको १५ औं जित निकाल्यो। घरेलु मैदानमा जोआ फेलिक्सले तेस्रो मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।खेलको ४५ औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याउँदै म्याड्रिडमाथि दबाब बढाए।

दोस्रो हाफको पनि खेल नियन्त्रणमा राखेको एट्लेटिकोले ६८ औं मिनेटमा पुनः अग्रता बनायो। रोड्रिगो डी पाउलले गोल गर्दै एट्लेटिकोलाई २-१ को अवस्थामा पुर्‍याए। जुन अग्रतालाई जोगाउन एट्लेटिको सफल रह्यो। खेलको निर्धारित समयको दुई मिनेट बाँकी हुँदा जाभी सेरानोले रेड कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो।

जितसँगै एट्लेटिकोले २८ खेलमा ५१ अंक जोडेको छ। शीर्ष स्थानको रियलको ६३ अंक छ। त्यस्तै‚ दोस्रो स्थानको सेभिल्लाको ५५ अंक रहँदा चौथो स्थानको बार्सिलोनाको ५८ अंक रहेको छ। एट्लेटिकोसँग पराजित भएको काडिजको २४ अंकका साथमा १८ औं स्थानमा रहेको छ।