खेलको माध्यमबाट पर्यटन प्रवर्धनको उद्देश्यका साथ इलाममा प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ।
सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराते खेल विकास समितिको संयोजनमा शुरु भएको प्रतियोगितामा आज पहिलो चरणको खेल सम्पन्न भएको हो। फिक्कलको कान्दुक फुटसल एरिनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ इभेन्टमा ७ वटा प्रदेशका ८० जना खेलाडी प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा पुरुष कुमुतेतर्फ पुरुषको ५० केजीदेखि ६५ केजी माथिको ५ तौल समूहका खेलाडीले सहभागिता जनाएका छन्।
त्यसैगरी महिलातर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा भएको छ। प्रतियोगिताको उद्घाटन सूर्योदय नगरप्रमुख रणबहादुर राईले गरे। प्रतियोगिताका क्रममा रेफ्री रिफ्रेसर तालिम समेत राखिएको छ। कार्यक्रममा कराते टिम तयारी संयोजक महेन्द्र राई, वरिष्ठ प्रशिक्षक एवं रेफ्री काउन्सिलका उपाध्यक्ष राम लामा लगायतको आतिथ्य रहेको थियो।
प्रतियोगिताको फाइनल खेल सोमबार सञ्चालन हुनेछ। कोभिड संक्रमण सुरु भएपछि सूर्योदय क्षेत्रमा कराते प्रतियोगिता हुन सकेको थिएन। पछिल्लो पटक २०७५ चैतमा श्रीअन्तुमा नेपाल, भारत, भुटान, बंगलादेश र दुबईका खेलाडी सम्मिलित सातौँ अन्तरराष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता सम्पन्न भएको थियो।