चैत २, २०७८ बुधबार

आइसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा भारतले प्रतियोगिताको चौथो खेलमा दोस्रो हार भोगेको छ। मंगलबार माउन्ट मानगुनुईमा भएको खेलमा इङल्यान्डले भारतलाई ४ विकेटले पराजित गर्दै पहिलो जित निकाल्यो। लगातार तीन खेलमा हार भोगेको इङल्यान्ड अन्ततः चौथो खेलमा दुई अंक जोड्न सफल भयो।

टस हारेर पहिलो ब्याटिङ गरेको भारत ३६.२ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएको थियो। भारतका लागि ओपनर स्मृति मनधनाले ३५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै ऋचा घोषले ३३ रन बनाउँदा हरमनप्रित कौरले १४ रन बनाएकी थिइन्।

त्यस्तै थप दोहोरो स्कोरका रूपमा नवौँ नम्बरमा ब्याटिङका लागि आएकी झुलन गोस्वामीले २० रन जोडेकी थिइन्। इङल्यान्डका लागि चार्ली डेनले ४ विकेट लिएकी थिइन्। त्यस्तै एनी शुरबोस्लेले २ विकेट हात पारिन्।

१३५ रनको सामान्य स्कोर पछ्याएको इङल्यान्डले उक्त लक्ष्य ११२ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गरेको थियो। इङल्यान्ड खराब सुरुवातका बाबजुत मध्यक्रममा समालिँदा जित निकाल्न सफल भयो। ४ रन जोड्दा दुई विकेट गुमाएको इङल्यान्डले त्यसपछि भने केही समालियो।

उसका लागि कप्तान हेथर नाइटले ५३ रनको अविजित इनिङ खेलिन्। त्यस्तै नट साइभरले ४५ रन जोडेकी थिइन्। त्यस्तै सोफिया डन्कलीले १७ रन बनाएकी थिइन्। भारतका लागि मेघा सिंहले ३ विकेट लिँदा अन्य बलरको प्रदर्शन भने औसत रहेको थियो।