विश्वकप क्रिकेट लिग–२ मा पीएनजीमाथि नेपालले २ विकेटको जित हात पारेको छ। यूएईमा भएको खेलमा पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ८ विकेट गुमाएर भेटायो।
अन्तिम ओभरको दोस्रो बलमा करण केसीले छक्का प्रहार गर्दै नेपालका लागि विजयी रन बटुलेका थिए। २५ बलमा करणले १ चौका र २ छक्कासहित २९ रनको विजयी इनिङ्स खेले।
त्यसअघि नेपालका लागि रोहित पौडेल र आरिफ सेखले अर्धशतकीय पारी खेले। ८२ बल खेलेका रोहितले ५८ रन जोडे।
८६ बल खेलेको आरिफले २ चौकासहित ५४ रन जोडे। दुबैले चौथो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए।
ओपनर कुशल भुर्तेलले १ रनमै आउट भए। पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ४, दीपेन्द्रसिंह ऐरी ८, आसिफ सेख १६ र विनोद भण्डारी १२ रनमा आउट भएका थिए। सोमपाल कामीले ७ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो ।
पीएनजीका कार्लोस एमिनीले ५९, चोद सोपरले ३५, टोनी उराले २७, नोर्मन भोनीले २३, असाद भालाले १९ र लागा साकीले २५ रन जोडे ।
नेपालका सोमपाल कामीले ३ तथा आरिफ सेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १–१ विकेट हात पारे ।
लिग २ मा नेपालले यसअघि दुई सिरिज खेलिसकेको छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ छैटौं स्थानमा छ ।
आईसीसी क्रिकेट विश्वकप लिग दुईमा ७ राष्ट्र रहेका छन् । ३६ खेलपछि शीर्ष ३ मा रहने टोली २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् ।