विश्वकप क्रिकेट लिग–२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स ((युएई) विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरेको युएईले सुरुवाती १० ओभरमा ३ विकेट गुमाएर ३५ रन जोडेको हो । शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालको तर्फबाट सोमपाल कामीले युइएका ३ ब्याटरलाई आउट गरे ।
चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत स्कोरमा बाउन्सर बलमार्फत विकेटकिपर आरिफ शेखको हातबाट क्याच आउट गराएका सोमपालले ५.१ ओभरमा भृत्य अरविन्दलाई ३ रनको व्यक्तिगत स्कोरमा एलबीडब्ल्यू धरापमा पारे ।
९.१ ओभरमा सोमपालले तेस्रो विकेट लिने क्रममा अर्का ओपनर मोहम्मद वासिमलाई ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । वासिमले २१ रन बनाए । ११ ओभरको समाप्तिमा युएईले ३७ रन बनाएर ४ विकेट गुमाएको छ । ११औं ओभरको तेस्रो बलमा करण केसीले आसिफ खानलाई आउट गराएका हुन् ।
पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो । युएईसमेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ। उसले पहिलो खेलमा पीएनजीलाई नै सात विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा चारपटक आमने सामने भएका छन् । जसमा नेपाल र युएई दुवैले समान दुईपटक जित हात पारेका छन् ।
लिगमा युएई १५ खेलमा आठ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने नौ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ ।