चैत ७, २०७८ सोमबार

नेपालले निर्यात व्यापारमा नयाँ कीर्तिमान (रेकर्ड) बनाएको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।  

भन्सार विभागका अनुसार नेपालले एउटै आर्थिक वर्षमा एक खर्ब रुपैयाँको निर्यात गर्न नसकेको अवस्थामा गएको आर्थिक वर्ष एक खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । यो वर्ष भने नेपालले आठ महिनामै एक खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात गर्न सफल भएको विभागले जनाएको छ । यो आर्थिक वर्ष नेपालले दुई खर्ब रुपैयाँको वस्तु निर्यात गर्ने सम्भावना बढेको छ । 

नेपालले आठ महिनामा ४१ अर्ब ४० करोड रुपैयाँको सोयाबिन तेल निर्यात गरेको हो भने झन्डै २६ अर्ब रुपैयाँको पाम तेल निर्यात गरेको छ । यस्तै तीन अर्ब ६१ करोड रुपैयाँको सूर्यमुखीको तेल निर्यात भएको छ । यी वस्तुका कच्चा पदार्थ भित्राएर नेपालले प्रशोधनपछि विदेश पठाउँदै आएको छ । 

यस्तै आठ महिनामा नेपालले १३ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएको वर्षको आठ महिनाको तुलनामा ३८ दशमलव ६४ प्रतिशतले धेरै हो । 

आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यो गएको वर्षको आठ महिनाको तुलनामा ३४ दशमलव ५० प्रतिशतले धेरै हो ।