पाकिस्तानले वेस्टइन्डिजलाई पराजित गर्दै महिला एकदिवसीय विश्वकपमा पहिलो जित निकालेको छ। ह्यामिल्टनमा सोमबार भएको खेलमा पाकिस्तानले वेस्टइन्डिजमाथि ८ विकेटको फराकिलो जित निकाल्यो। वर्षाका कारण २० ओभरमा घटाइएको खेलमा पाकिस्तान सामु वेस्टइन्डिजले ९० रनको विजयी लक्ष्य दिएको थियो।
टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिज २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानका लागि मुनिबा अलीले ३७ रन बनाउँदा विष्माह मारुफ २० रनमा अविजित रहिन्। त्यस्तै ओमइमा सोहाली २२ रनमा अविजित रहँदै १८ ओभर ५ बलमा लक्ष्य पूरा गर्न पाकिस्तान सफल भयो।
त्यसअघि पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले भने गतिलो स्कोर तयार गर्न सकेन। डेन्ड्रा डोटिनले सर्वाधिक २७ रन बनाउँदा स्टाफनिय टेलरले १८ रन जोडिन्। थप दोहोरो स्कोरका रुपमा एफि फ्लेचरको अविजित १२ रन रह्यो। पाकिस्तानका लागि नदा दरले ४ विकेट लिएकी थिइन्। उनी प्लेयर अफ द म्याच घोषित भएकी थिइन्।
पाकिस्तानले पाँचौँ खेलमा जित निकाल्दै खाता खोलेको हो। पाकिस्तान ८ टिम सहभागी प्रतियोगिताको पुछारमा रहेको छ। अस्ट्रेलिया ५ खेलमा अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा रहँदा दक्षिण अफ्रिका पनि अपराजित रहँदै ४ खेलबाट ८ अंकका साथ दोस्रो स्थानमा छ।
६ खेल खेलेको वेस्टइन्डिज ६ अंकका साथ तेस्रो स्थानमा रहँदा भारत ५ खेलबाट ४ अंकका साथ चौथो स्थानमा छ। इंग्ल्यान्ड र न्युजिल्यान्डको पनि ४र४ अंक रहेको छ।