प्रदीप परियार सम्भवतः निजामती सेवामा नयाँ रेकर्ड कायम गर्न सफल बनेका छन् । त्यो रकर्ड हो कान्छो, उमेरको सहसचिव । २०४६ साल वैशाखमा जन्मेका उनी ३२ वर्षको उमेरमा सहसचिव बनेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत परियार खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन् । २ जनाको लागि खुलाइएको सहसचिव खुलामा प्रदीप र गुल्मीका सुरेश पन्थीको नाम लोक सेवा आयोगको ८ चैतको बैठकले सिफारिस गरेको हो ।
पर्वत फलेवास स्थायी ठेगना भएका परियारले निजामति सेवामा ९ वर्ष बिताएका छन् । १ वर्ष नायब सुब्बाको रूपमा काम गरेका उनीसँग पछिल्लो ८ वर्ष भने शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरेको अनुभव छ ।
अब भने उनले सहसचिवको रूपमा सेवा गर्नेछन्, सरकारले जहाँ खटाउँ त्यसै क्षेत्रमा बसेर ।
परिक्षण काल पूरा नगर्दै अधिकृत
.jpg)
निजामती सेवामा उनी २०६९ सालमा प्रवेश गरेका थिए । नायब सुब्बाको नतिजा आएकै वर्ष उनले शाखा अधिकृतमा पनि आवेदन दिएका थिए ।
निजामती प्रवेशको एक वर्ष परीक्षणकाल रहन्छ । तर परीक्षणकाल पनि पूरा नगर्दै उनी शाखा अधिकृत बन्न सफल भएका थिए । २०७० सालयता उनी शाखा अधिकृतको रूपमा कार्यरत थिए ।
एकै वर्षमा तीन पटक उपसचिवमा नाम
प्रदीपको यसै वर्ष तीन पटक उपसचिवमा नाम निस्केको थियो, लिखितमा । यो वर्ष उनले उपसचिव प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट आवेदन दिएकोमा दुवैमा नाम निस्केको थियो भने परराष्ट्रको उपसचिवमा पनि आवेदन दिएकोमा तीनै पटक लिखितबाट उनी पास भएका थिए ।
यद्यपि, उपसचिवको रूपमा भने उनले काम गर्नुपरेन, अन्तर्वार्ताबाट छनोट भएका थिएनन् । लगातार दुई वर्ष उनले सहसचिव खुलातर्फ नाम निकाल्न सफल भए । अघिल्लो वर्ष पनि उनले सहसचिव खुलामा नाम निकालेकोमा अन्तर्वार्ताबाट नाम छनोट हुन सकेको थिएन । यो वर्ष पनि लिखितमा नाम निस्केसँगै उनले अन्तर्वार्ताको तयारी गरे ।
गत १ चैतदेखि ८ गतेसम्म सञ्चालन भएको अन्तर्वार्तामा उनले नाम निकाल्न सफल भए ।
सामान्य परिवार, पढाइमा मेहनती, छात्रावृत्तिबाटै पढाइ
पर्वतको फलेवासमा सामान्य परिवामा जन्मिएका हुन् प्रदीप । उनका बुवा-आमा अहिले पनि गाउँमै खेतीकिसानी गर्छन् । उनका दाइ वन अधिकृतको रूपमा सरकारी सेवामा छन् ।
प्रदीपले माध्यमिक तहको शिक्षा फलेवासलकै सरकारी स्कुल भवानी विद्यापिठबाट पास गरेका थिए । १ देखि १० कक्षासम्मको पढाइमा उनी कहिल्यै दोस्रो हुनु परेन । आफ्नै महेनतले गर्दा उनले त्यसपछिको पढाइमा निरन्तर छात्रवृत्ति पाए ।
उनले शान इन्टरनेसनलबाट प्लस टु उत्तीर्ण गरे । स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर हुन् ।
"कामप्रति लगाव लोभलाग्दो"
प्रदीपका सहकर्मीहरू उनको कामप्रतिको लगावलाई सम्मान गर्छन् । उनैसँगै शाखा अधिकृतमा नाम निकालेका अर्घाखाँचीका सरोज पोखरेलले प्रदीपसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सँगै काम गरेका थिए ।
अहिले उपसचिवको रूपमा कार्यरत पोखरेल भन्छन्, 'उहाँको कामप्रतिको लगाव अत्यन्तै सम्मान गर्न लायक छ, इमानदार र कामप्रति जवाफदेहिताको विषय उहाँबाट सिक्नुपर्ने पाठ हुन् ।'
प्रदीपसँग भेट भएलगत्तै छिट्टै माथिल्लो तहमा नाम निकाल्ने मूल्याङ्कन सरोजले गरेका थिए । 'सिर्जनशील व्यक्ति र सकारात्मक सोच उहाँका विशेषता हुन्', सरोजले भने, 'उहाँको मेहनत हेर्दा नै मलाई लागेको थियो, उहाँले चाँडै माथिल्लो तहमा नाम निकाल्नु हुनेछ ।'