काठमाडौं । स्थानीय तह निर्वाचन लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको भीड लागेको छ । कार्यालय समय अगावै जिल्ला प्रहरी कार्यालय पुगेर आवेदन बुझाउने मात्रै नभई फारम लिन लाइनमा बस्नेको भीडसमेत उत्तिकै बाक्लो छ ।
युवा, युवतीका साथै ४० नाघेका ठूलो समूह २ महिने सरकारी जागिरमा झुम्मिएका छन् । लाइनमा पालो पर्खने अधिकांशको चाहना खर्च जुटाउनु नै छ । बेरोजगारी समस्याका कारण म्यादी प्रहरीका लागि पनि आवेदन दिन बाध्य हुनु परेको अधिकांशको भनाइ छ । उनीहरू भन्छन् “सरकारले स्वदेशमै रोजगारी दिलाउन सकेन्, खाली बस्नुको साटो थोरै भए पनि घर खर्च जुट्छ । त्यही भएर म्यादी खान आएको ।” युवा मात्र नभई अधवैशे उमेर समूहका व्यक्तिहरू समेत म्यादी बन्ने इच्छा बोकेर घण्टौँ लाइनमा छन् । उनीहरू समेत घरपरिवारको गर्जो टार्न २ महिने सरकारी जागिर खान आएको बताउँछन् ।
म्यादी प्रहरीका लागि साधारण लेखपढ मात्रै पुग्ने भए पनि आवेदन दिने शिक्षित बेरोजगारको संख्यासमेत ठूलो छ । उनीहरूको भनाइमा सरकारी बेवास्ता र रोजगारीको पर्याप्तता नहुनु देशकै लागि विडम्बना हो । पढे लेखेर नि विदेशिनुबाहेक विकल्प छैन । म्यादी प्रहरीमा आउनु रहर नभई बाध्यता हो । शैक्षिक प्रमाणपत्र अनिवार्य नभएकाले आवेदन दिने शिक्षित बेरोजगारको संख्या यकिन हुन नसके पनि म्यादी प्रहरीमा आवेदन दिनको भीडले बेरोजगार समस्या समाधान गर्न नसकेको सरकारलाई गिज्याइरहेको स्पष्ट देखिन्छ ।